टिकापुरमा मारिएका इन्स्पेक्टरको श्रीमती सर्वोच्च पुगिन्


[बेलौरी खबर ]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
टिकापुरमा मारिएका इन्स्पेक्टरको श्रीमती सर्वोच्च पुगिन्

काठमाडौँ : तीनै तहको अदालतबाट टिकापुर घटनाको मुख्य योजनाकार ठहर भएका रेसम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले आममाफीको निर्णयविरुद्ध आइतबार अदालतमा पेस गरेको रिट मङ्गलवार दर्ता भएको हो।

रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र चौधरीलाई विपक्षी बनाइएको छ। रिटको पेशी बुधवार तोकिएको छ।

२०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा बोहरासहित नौ जनाको ज्यान गएको थियो। उनले चौधरीलाई आममाफीको निर्णय हुनु अगाडि नै राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएकी थिइन्। कार्यालयले सो निवेदन गृह मन्त्रालयमा पठाएको थियो।

राष्ट्रपति कार्यालयबाट अदालतको नजिर र प्रचलित कानुन विपरीत नहुने गरी निर्णय गर्न पत्र पठाएकोमा मन्त्रिपरिषद् बैठक बसेर सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउनु अगाडि नै चौधरीको बाँकी कैद सजाय माफ गर्ने निर्णय भयो। राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरे।

राष्ट्रपतिबाट सदर भए लगत्तै सोमबार सरकारी बिदाको दिन पनि कार्यालय समय अगावै सजाय माफी भएको पत्र डिल्लीबजार कारागार पुर्याएर उनलाई रिहा गरिएको थियो।