१० रुपैयाँ शुल्कमा ३०० रुपैयाँ उठाउँदै वडा कार्यालय


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
१० रुपैयाँ शुल्कमा ३०० रुपैयाँ उठाउँदै वडा कार्यालय

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ८ र ९ को कार्यालयले तोकिएको शुल्कभन्दा बढी रकम उठाएको पाइएको छ। वडा कार्यालयले निवेदन दस्तुरबापत १० रुपैयाँ तोकेका छन्। तर सेवाग्राहीबाट निवेदन दर्ता गर्दा अन्य दस्तुरमा उल्लेख भएको ३०० रुपैयाँसमेत समावेश गरेर ३१० रुपैयाँ लिइएको पाइएको हो।

वडा कार्यालयहरुले अहिले पुराना घर (पहिले बनेका) तथा भवनको निवेदन माग गरेर अभिलेखिकरण गरिरहेको छ। सोही अभिलेखीकरणका लागि आउने सेवाग्राहीसँग वडा कार्यालयले निवेदन दस्तुरबापत भन्दै प्रति ३१० रुपैयाँ लिने गरेको पाइएको हो। नगरपालिकाले साउन ७ गतेदेखि भदौ ९ गतेसम्म वडा कार्यलयबाट अभिलेखीकरणको निवेदन दर्ता गर्न समय दिएको छ।

वडा नं. ८ का वडाध्यक्ष कविराज आचार्यले भूलवश दस्तुर लिइएको बताए। ‘सचिवले भुलवश सिफारिसबापत लिनुपर्ने रकमसमेत निवदेन दर्ता गर्ने समयमा लिनु भएछ। त्यसलाई सच्चाउँछौं,’ आचार्यले भने। बढी लिइएको रकम सेवाग्राहीहरू सिफारिस लिन आउने क्रममा मिलान गरिने आचार्यको भनाइ छ।

वडा नं. ८ ले १६ जना र वडा नं. ९ ले ९२ जना सेवाग्राहीसँग उक्त रकम लिएको हो। केही सेवाग्राहीहरुले बढी रकम लिएको बारे बताएपछि त्यसको सोधिखोजी भएको थियो। बढी रकम लिएको पाइएपछि वडा कार्यालयहरुले रकम मिलान गर्ने जनाएका हुन्।

सिफारिसबापतको रकम पहिल्यै लिनु नियमविपरीत रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए। वडाअध्यक्षले पछि सिफारिसमा मिलान गर्ने बताए पनि प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने बढी भएको रकम सेवाग्राहीलाई बोलाएर फिर्ता गराउन लगाइने बताए।