सुदूरपश्चिममा १५ हजार हेक्टर उर्वर भूमि बाँझै, प्रदेश सरकार बेखबर


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
सुदूरपश्चिममा १५ हजार हेक्टर उर्वर भूमि बाँझै, प्रदेश सरकार बेखबर

सुदूरपश्चिम प्रदेशभित्र १५ हजार बढी हेक्टर उर्वर भूमि बाँझै रहेको पाइएको छ। कञ्चनपुरको बेलडाँडीमा मात्र तीन हजार बिघा उर्वर भूमि बाँझै रहेको पाइएको हो। संघीय सरकारले भूउपयोग नियमावली, २०७९ जारी गर्दै खेतीयोग्य जमिन बाँझो राखे एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनलाई १० क्षेत्रमा वर्गीकरण गरेर लगातार तीन वर्ष जमिन बाँझो राखे कारबाही हुने व्यवस्था गरेको छ। तर, बेलडाँडीमा दशकौँदेखि उर्वर भूमि सरकारकै कारण बाँझो छ। सरकारले नहर विस्तारदेखि खोलानदीको उचित तटबन्ध नगरिदिँदा झन्डै तीन दशकदेखि उर्वर भूमि बगर र सिमसारमा परिणत भएको छ।२०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण सुरु भएसँगै सिपेज, झर्नाखोला र चौधर नदी गाउँ पस्दा उर्वर भूमि बगर र सिमसारमा परिणत भएको छ। बेलडाँडी गाउँपालिका–१ देखि ५ सम्म तीन हजार बिघाभन्दा बढी जमिन बाँझो छ। तीनै तहका सरकारले कागजमा कृषिलाई प्राथमिकतामा राखे पनि व्यवहारमा लागू नहुँदा जमिन भएर पनि खेती हुन नसकेको हो।

बेलडाँडीको पूर्वमा झर्नाखोला र पश्चिममा चौधर नदीसहितको खोलानालाका कारण जमिन दलदलमा परिणत हुँदै आएको छ। बेलडाँडीको १ नम्बर वडामै एक हजारभन्दा बढी बिघा जमिन बाँझो छ। बेलडाँडी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता गजबहादुर विष्टले गाउँपालिकाको १ देखि ५ वडासम्म सिमसारमा परिणत भएको जमिन पुनरुत्पादन गरिने बताएका छन्।