सासु ससुराबाट बुहारीको हत्या प्रकरण: आरोपित पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
सासु ससुराबाट बुहारीको हत्या प्रकरण: आरोपित पक्राउ

कैलालीको गौरीगङ्गा नगरपालिका– १ स्थित केदारेश्वर सामुदायिक वनमा जेठ १९ गते २७ वर्षीया कविता बुढा गाल्डोमा पुरीएकी अवस्थामा मृत फेला परिन् ।  बुढाका परिवारले उनी हराएको भन्दै गत साताको सोमबार खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । तर उनको हत्या परिवारकै सदस्यले गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ  । 

प्रहरी अनुसन्धानबाट उनै सासू–ससुराले मिलेर बुहारीको हत्या गरेको खुलेको हो । सो घटनाको प्रारम्भिक अनुसन्धान सकिएको भन्दै कैलाली प्रहरीले घटनामा संलग्न ३ जना आरोपितलाई सार्वजनिक गरेको छ ।  

घटनाका आरोपित गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ५२ वर्षीय डिल्लीसिंह बुढा (मृतककी ससुरा), उनकी पत्नी ५० वर्षीया लहरी बुढा (सासू) र भजनी नगरपालिका– ४ बस्ने ४१ वर्षीय जयवीर बुढालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार आफ्नै घरको भान्साकोठामा मृतक कविता रोटी पकाइरहेको अवस्थामा (ससुरा) डिल्लीले उनलाई पछाडिबाट टाउकोमा चिर्पट (दाउरा) ले हिर्काई हत्या गरेका थिए ।  डिल्ली र उनकी पत्नी (लहरी) ले मिलेर हत्यापश्चात्  लासलाई डोकोमा हाली घरभन्दा अन्दाजी ३ किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा लगी  खाल्डो खनेर लासलाई गाडेका थिए ।

मृतक कविता बुढा घरमा सासु ससुरा र देउरानीसँग बस्दै आएकी थिइन् । मृतक कविताका दुई जना छोराछोरी रहेका छन् ।  उनका श्रीमानले दोस्रो विवाह गरेर कान्छी श्रीमतिसहित भारतमा बस्दै आएका छन् ।