समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन : प्रधानमन्त्री


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।

ललितपुरको सैंबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासको आज उद्‌घाटन गर्दै उनले राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उद्‌घोष गरे ।
“स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन,” प्रधानमन्त्री दाहालले भने, “मैले कार्यकारी प्रमुखको हैसियतले यो पक्षमा आफ्नो ठाउँमा राष्ट्रिय सहमति र समझादरी गरेर अगाडि जाने प्रयास गर्दै आएको छु ।”

प्रधानमन्त्री दाहालले प्रदेशहरूलाई प्रभावकारी बनाउन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नवनिर्मित भवनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन सुन्दर छ, भैँसेपाटी ठाउँ पनि रमाइलो छ, मैले यसलाई भवन र स्थानको कुरा हैन, हाम्रा प्रदेशहरूलाई प्रभावकारी बनाउनुपर्ने छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेलामौकामा केही मानिसले प्रश्न उठाउने गर्छन् त्यसको जवाफ पनि हो । जुन सङ्घीयता संस्थागत गर्न एक कदम अघि बढेको छ ।”

प्रधानमन्त्री दाहालले संविधानको प्रभावकारी कार्यान्वयन गर्न र राजनीतिक स्थिरता र स्थायित्वको वातावरणलाई अझ राम्रोसँग अगाडि बढाउन तथा सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।