सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


[बेलौरी खबर ]
लेखक : admin      २ महिना अगाडि मा प्रकाशित     
सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा आज पनि स्थगित भएको हो । यसअघि सोमवार तोकिएको मुद्दाको पेसी सरेर आजका लागि तोकिएको थियो । 

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।

यसअघि  भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो । सोहीअनुसार गत सोमबार पेसी तोकिए पनि जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशको सरुवा भएपछि ७/८ वटा फाँटका मुद्दाको पेशी स्थगित भएको सूचना अधिकारी दीपक दाहालले बताएका थिए । 

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशबाट कारागारमुक्त भएका हुन् । सर्वोच्च अदालतले पनि यो मुद्दालाई छिटो टुंग्याउन आदेश दिएको थियो, तर मुद्दाको सुनुवाइ निरन्तर लम्बिँदै/सर्दै आएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।