संक्रमणको याममा महामारी रोगबाट कसरी बच्ने


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
संक्रमणको याममा महामारी रोगबाट कसरी बच्ने

गर्मी र वर्षा मौसममा चिकित्सकहरू भन्छन्– संक्रामक रोगहरू यही बेला अधिक देखा पर्छन् । गत बर्ष ६८ जिल्लाका १५ हजार हाराहारी मानिसमा डेंगुको संक्रमण देखियो । ६ जनाले त ज्यानै गुमाउनु परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ । पुष महिना यताको तथ्यांक हेर्ने हो भने ३२ जिल्लाका ८७ जनामा डेंगु देखिइसकेको छ । यो याममा औलो, टाइफाइड, जन्डिस, स्क्रब टाइफस, झाडापखाला, हैजालगायतका संक्रमण फैलिने खतरा रहिरहन्छ । सर्पदंशको घटना पनि यही बेला बढी देखिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘डेंगु र स्क्रब टाइफस यतिबेला चुनौतीको रूपमा देखा परेका छन् ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘डेंगु र स्क्रब टाइफस यतिबेला चुनौतीको रूपमा देखा परेका छन् ।’

किन गर्मी र वर्षा मौसममा नै यस्ता संक्रमण फैलिन्छन् त ? इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेको जवाफ छ, ‘दूषित पानी, खानेकुरा र असावधानीका कारण यस्तो हुन्छ । बर्षामा भेलबाढी आदि कारणले पानीका मुहानमा पनि विभिन्न किटाणुहरू हुनसक्छन् । पानी उमालेर नखाँदा होस् या बासी खाना खाँदा अनि लामखुट्टेको टोकाइबाट संक्रमण फैलिन सक्छ ।’

त्यसो त यस्ता संक्रमणबारे जनचेतना हुँदै नभएको होइन । समस्या के हो भने ज्ञान भएर पनि व्यवहारमा लागू नगर्दा यो मौसममा मानिसहरू विभिन्न रोगको सिकार हुने गरेको डा. पुनको निष्कर्ष छ । यसै सन्दर्भमा उनले यो याममा फैलिन सक्ने संक्रामक रोग, त्यसका लक्षण र बच्ने उपायबारे यहाँ चर्चा गरेका छन्ः

रोग, लक्षण र बच्ने उपाय

डेंगु

एडिस जातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु भाइरस सर्छ । टोकेको ४ देखि १० दिनभित्र यसका लक्षण देखा पर्न थाल्छन् । आ“खाको गेडी अत्यधिक दुख्नु, शरीरका जोर्नी दुख्नु, स–साना राता बिमिरा देखा पर्नु, वाकवाक लाग्नु वा बान्ता हुनु, टाउको असाध्यै दुख्नु, गिजा वा नाकबाट रगत आउनु, पिसाब रातो हुनु, दिसा कालो हुनु आदि यसका लक्षण हुन् । डेंगु संक्रमित व्यक्तिको शरीरमा आन्तरिक रक्तस्राब पनि हुने सम्भावना हुन्छ ।

डेंगु पहिचानका लागि रक्तपरीक्षण अनिवार्य छ, त्यसैले यी लक्षण देखिएमा चिकित्सकको सल्लाहमा नियमित रक्तपरीक्षण गर्नुपर्छ । संक्रमितलाई अत्यधिक दुखाइ हुन्छ र कम हुने औषधि खान पाए ठीक हुन्थ्यो कि भन्ने भावना आउँछ । कतिपय बिरामीले चिकित्सकको सल्लाहबिनै कडा खालका दुखाइ कम गर्ने औषधि सेवन गर्ने गर्छन् । जसले ज्यान जोखिममा पर्न सक्छ । कडाखाले औषधिले शरीरमा थप रक्तस्राब गराउँछ । त्यसैले प्यारासिटामोलबाहेक अन्य औषधि चिकित्सकको सल्लाहबिना खानु हुँदैन ।

संक्रमितले पर्याप्त आराम, झोलिलो र तागत दिने खानेकुरा खानुपर्दछ । लामो बाहुला भएका कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न झुल हाल्नु, घरवरपर रहेका पानीका खाल्डाखुल्डी पुर्नु र पानी जमेको ठाउँमा लामखुटेको लार्भा मार्ने किटनाशक औषधी प्रयोग गर्नु नै यस संक्रमणबाट बच्ने उपायहरू हुन् ।

औलो 

औलो (मलेरिया) पनि लामखुट्टेको टोकाइबाटै लाग्ने रोग हो । यो रोग संक्रमित पोथी एनफिलिज लामखुट्टेकोे टोकाइबाट सर्ने गर्छ । औलो संक्रमित बिरामीलाई एकदमै जाडो अनुभव हुने, काम ज्वरो आउने, अत्यधिक पसिना आउने, टाउको दुख्ने, बान्ता हुने, शरीर दुख्ने, ४८ अथवा ७२ घन्टाको फरकमा ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । यो रोग लामखुट्टेले टोकेर परजीवीहरू शरीरमा प्रवेश गरेको सामान्यतया १० देखि १५ दिनभित्रमा लक्षण देखिन सुरु हुन्छ । औलोले गम्भीर रूप लिएमा बिस्तारै फियो बढ्ने, जण्डिस देखिन थाल्ने, कलेजो बढ्ने समस्या हुन सक्छ । समयमै उपचार भएन भने बिरामीको मृत्यु समेत हुन्छ ।

यसबाट बच्नका लागि पनि लामो बाहुला भएका कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्नका लागि झुल प्रयोग गर्ने, घरवरपर रहेका पानीका खाल्डाखुल्डी पुर्ने, पानी जमेको ठाउँमा लामखुटेको लार्भा मार्ने किटनाशक औषधी प्रयोग गर्ने गर्नुपर्छ । औलोको शंका लागेमा तुरुन्त स्वास्थ्य चौकी गयो भने औलोविरुद्धको औषधि निःशुल्क पाइन्छ ।

जण्डिस (हेपाटाइटिस ए, इ)

गर्मी मौसममा दूषित पानी र खानेकुराबाट जण्डिस (हेपाइटिस ए, इ) लाग्न सक्छ । यो रोग लागेमा आँखा पहेँलो हुने, खानामा रुचि कम हुने, पेट दुख्ने, ज्वरो आउने, पिसाब हल्का कालो हुने, कमेरो खालको दिसा आउने, टाउको दुख्ने, थकान महसुस हुनेलगायतका लक्षण देखापर्छन् । यसको उपचार विधि यही नै हो भन्ने छैन । सामान्यतया यो रोगका लागि बिरामीलाई पर्याप्त आराम चाहिन्छ । यो एकप्रकारको भाइरल हो, त्यसैले एक महिनापछि बिस्तारै कम भएर जान्छ । जन्डिस अर्थात् हेपाटाइटिस ए, इको बारेमा नेपाली समाजमा विभिन्न खाले भ्रम छन् । जस्तो, जन्डिस भएको बेलामा नुन खान नहुने, चिल्लो पिरो खानै नहुने, बेसारलगायतका पहेँलो खानेकुरा खान नहुने, उसिनेका खानेकुरामात्र खानुपर्ने । तर यसमा कुनै सत्यता छैन । यस्तो अवस्थामा बिरामीले तागतिला खानेकुरा खानुपर्छ । जन्डिसले विशेषगरी कलेजोमा असर गर्ने भएकाले यसको अवस्थाबारे चिकित्सकसँग सल्लाह लिनु अनिवार्य हुन्छ ।

टाइफाइड

यो मौसममा टाइफाइड हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो पनि दुषित पानी र खानेकुराबाटै हुन सक्ने रोग हो । साल्मोनेला टाइफी तथा पारा टाइफी ब्याक्टेरियाले यो रोग उत्पन्न गराउँछ । यसको सुरुवाती लक्षण ज्वरो नै हो । सुरुसुरुमा उच्च ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, शरीर कमजोर हुने, खोकी लाग्ने, खान मन नलाग्ने, कसै–कसैमा शरीरमा गुलाबी खालको बिमिरा आउने जस्ता लक्षण देखा पर्छन् । यसको समयमा उपचार भएन भने आन्द्रा प्वाल परेर रक्तस्राब हुनसक्छ । त्यसैले समयमै यसको निदान गर्नुपर्छ । यसको उपचार विधि एन्टिबायोटिक नै हो । त्यसैले समयमै अस्पताल गएर चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । यसबाट बच्नका लागि खानपानमा ध्यान दिनुपर्छ । पानी उमालेर खाने र खानेकुरा राम्रोसँग पकाएर खाने, ज्वरो आयो भनेर हेलचेक्र्याईं नगरी अस्पताल जाने गर्नुपर्छ ।

स्क्रब टाइफस

स्क्रब टाइफस मुसामा हुने एकप्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुसुगामुसी भन्ने व्याक्टिरियाको कारणले हुने रोग हो । यो रोग पनि गर्मी महिना र वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र रोगको लक्षण देखिन सुरु हुन्छ । यसमा विशेषगरी उच्च ज्वरो आउने, कसैको शरीरमा रातो–रातो दाना देखिने हुन्छ । त्यस्तै एकदमै टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, आँखाको सेतो भाग रातो हुने, टोकेको ठाउँमा कालो पाप्रा देखिनेजस्ता लक्षण देखिन्छन् । त्यसैले किर्नाले टोकेको ठाउँ कालो पाप्रा देखिएको छ, उच्च ज्वरो आएको छ र आँखा रातो आएको छ भने स्क्रब टाइफसको लक्षण हो भनेर बुझ्नुपर्छ ।

यसको उपचारका लागि सामान्य एन्टिबायोटिक चलाइन्छ । एन्टिबायोटिक चलाएको सामान्यतया ४८ घन्टापछि ज्वरो घट्दै जान्छ । यसबाट बच्न घरमा मुसा नआउने वातावरण बनाउनुका साथै घरवरिपरि झाडी, खुला चौरमा बस्दा थ्याच्च नबस्ने, बाहुला भएको कपडाहरू लगाउने गर्नुपर्छ । मुसा नियन्त्रण गर्नु नै यसबाट बच्ने उत्तम उपाय हो ।

झाडापखाला

गर्मी र वर्षा याममा लाग्न सक्ने मुख्य रोग नै झाडापखाला हो । २४ घन्टामा तीन पटक अथवा त्यसभन्दा बढी तारन्तार पानीजस्तो पातलो दिसा लाग्यो भने त्यसलाई झाडापखाला भनेर बुझिन्छ । झाडापखाला हुँदा बान्ता हुने, पेट दुख्ने, हातखुट्टा र मांसपेशी दुख्ने अथवा बाउँडिने, रिंगटा लाग्ने, कमजोरी महसुस हुने, आँखा गाडिने, शरीर चिसो हुने, नाडीको गति मन्द हुने, रक्तचाप कम हुनेलगायतका लक्षण देखापर्छन् । धेरै बान्ता र पखाला भएर अति जलवियोजन भयो भने मानिसको मृत्यु हुनसक्छ । तारन्तार बान्ता भयो भने बिरामीको अवस्था गम्भीर हुन्छ । त्यसैले झाडापखाला लागेको बेलामा जीवनजल पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । झाडापखला विशेषगरी दूषित खाना र पानीबाटै लाग्ने गर्छ ।

यसबाट बच्नका लागि पानी उमालेर खाने, ताजा खानेकुरा खाने, यो बेला शरीरमा नुन र पानीको मात्रा कम हुने भएकाले पुनर्जलीय झोल बनाएर प्रशस्त पिउने गर्नुपर्छ । झाडापखाला लामो समयसम्म पनि निको भएन भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।

हैजा

हैजा पनि झाडापखाला नै हो । यसलाई गम्भीर रूपमा हेरिन्छ । हैजाको किटाणु शरीरमा प्रवेश गरेको दुई घन्टादेखि ५ दिनभित्र यसका लक्षणहरू देखा पर्न सक्छन् । हैजा लागेमा बान्ता हुने, चौलानीजस्तो दिसा आउने, जलवियोजन हुने, मांसपेशी बाउँडिने, आँखा गाढिने, छाला चिसो हुने, छाला चाउरिने, शरीरमा भएको जलवियोजनका कारण छाला नीलो भएर जाने जस्ता लक्षण देखा पर्छन् । हैजाको लक्षण देखा परेको केही घन्टाभित्र उपचार भएन भने बिरामीको मृत्यु समेत हुनसक्छ । यसबाट बच्नका लागि पानी उमालेरमात्र पिउने, खानेकुरा राम्ररी पकाएर खाने र यसका लक्षण देखिनेबित्तिकै जीवनजल पिउने गर्नुपर्छ ।