‘मुम्बई फिल्म फेस्टिभल’मा नेपालका ‘द रेड सुटकेस’ र ‘गुराँस’ छनोट


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
‘मुम्बई फिल्म फेस्टिभल’मा नेपालका ‘द रेड सुटकेस’ र ‘गुराँस’ छनोट

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस अध्यक्ष र एसियाकै धनी मुकेश अम्बानीकी छोरी इशा अम्बानी कार्यकारी निर्देशक रहेको भारतको प्रतिष्ठित ‘मुम्बई फिल्म फेस्टिभल’मा फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र सौरभ राई निर्देशित ‘गुराँस’ गरी दुई नेपाली फिल्म ‘साउथ एसिया कम्पिटिसन’ विधामा छनोट भएका छन् । यी दुवै फिल्मको निर्माण कम्पनी आइसफल प्रडक्सन हो ।

आफूले निर्माण गरेका दुवै फिल्म फेस्टिभलमा छनोट भएकोमा निर्माता रामकृष्ण पोखरेलले खुसी व्यक्त गरे । उनले एउटै विधामा आफ्ना दुई फिल्म प्रतिस्पर्धी रहनु दोहोरो खुसी भएको बताए । ‘यो प्रतिस्पर्धाभन्दा पनि प्रतिनिधित्वको कुरा हो । यसलाई मैले राम्रा फिल्ममार्फत् नेपालको प्रतिनिधित्व भएको रुपमा लिएको छु,’ उनले भने । अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म फेस्टिभल चल्नेछ ।

आइसफलले श्रीलंकाको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि ‘जुरिक फिल्म फेस्टिभल’मा पनि छनोट भएको थियो भने अघिल्लो महिना विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा ‘वर्ल्ड प्रिमियर’ भएको थियो । त्यसबेला फिल्मले तीन मिनेटको ‘स्टयान्डिङ ओभेसन’ पाएको थियो । फिल्ममा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।

त्यस्तै, ‘गुराँस’ले यसअघि चेक रिपब्लिकको ‘कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा जुरी अवार्ड जितेको थियो । फिल्मको दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । फिल्ममा मेनुका प्रधान, खगेन्द्र लामिछाने, तुलसी खवासको मुख्य भूमिका छ । फिल्ममा सुबल केआरको छायांकन छ भने सौरभ राई र अंकिता पुरकायस्थको सम्पादन छ ।