महिलाको अपहरण गरी हत्या गरेको आरोपमा माओवादीका नेता–कार्यकर्ता पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
महिलाको अपहरण गरी हत्या गरेको आरोपमा माओवादीका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं, २८ बैशाख। महिलाको अपहरण गरी हत्या गरेको आरोपमा रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माओवादी केन्द्रबाट वडाध्यक्षका उमेदवार रहेका कुमार सिंह बुढा, पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–११ का वडाध्यक्ष जयकुमार बुढा र अर्जुन बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

यही वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीया जुङमाया बुढालाई अपहरण गरी हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको रुकुम पूर्वका डीएसपी प्रकाश डाँगीले जानकारी दिए । ‘‘पीडित पक्षले माओवादीकै नेता–कार्यकर्ताहरुले अपहरण गरी हत्या गरेको आरोप लगाएका थिए । थप अनुसन्धान भइरहेको छ,” उनले भने ।

प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटरमाथिको जंगलमा बुढाको शव फेला पारेको थियो ।

पुथा उत्तरगंगामा नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच पटक–पटक विवाद र झडप भएको छ । मृतकको शव पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

उक्त गाउँपालिकामा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ ।