भारतबाट नेपाल आउँदै गरेको कारबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँ बरामद भएको छ । सिरहा नगरपालिका वडा नम्बर १७ माडर काली चौकमा प्रहरी चौकी खिरौना र ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको संयुक्त टोलीले सो रकमसहित दुई जनालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा भारतको जयनगरबाट नेपालतर्फ भारतीय नम्बर प्लेटको उक्त कारमा आउँदै गरेका सिरहा नगरपालिका वडा नम्बर १७ माडर बस्ने प्रेम कुमार यादव र वडा नम्बर ७ बस्ने संजय कुमार साहलाई पक्राउ गरेको हो ।
कारको अगाडिको सिटमुनीको भागमा घर्रा जडान गरी घर्रा भित्र कालो प्लास्टिकमा लुकाई छिपाई ल्याएको सो रकम र कारसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।