बेलौरीमा यस्तो पनि, पक्की सडकमाथि नै ग्राभेल


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
बेलौरीमा यस्तो पनि, पक्की सडकमाथि नै ग्राभेल

कञ्चनपुरको बेलौरी नगरपालिकाले पक्की सडकमाथि ग्राभेल हालिरहेको छ । क्षणभरको वर्षामा बेलौरी बजार जलमग्न हुन थाल्दा नगरपालिकाविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि नगरपालिकाले पक्की सडकमाथि ग्राभेल हालिरहेको हो ।

तर, पक्की सडकमाथि ग्राभेल हाल्न थालिएको भन्दै नगरपालिकाविरुद्ध सामाजिक सञ्जालमा पुन: आलोचना भइरहेको छ । कोटेसन पाएपछि पक्की सडकमै ग्राभेल गरिएको आरोप स्थानीयले लगाएका छन् । कोटेसनको ८ लाखमा पक्की सडकमा नै ग्राभेल भन्दै आलोचना गरिरहेका छन् ।

नगर उपप्रमुख जोगराम चौधरीले भने ग्राभेलका लागि बजेट विनियोजन नगरिएको र ग्राभेल हालिसकेपछि बजेट छुट्याइने बताएका छन् । उनले ग्राभेल हालेपछि सम्बन्धितलाई पछि रकम दिइने बताए । नगरपालिकाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर राजेन्द्र विष्टले सडकमा पानी भरिँदा आवतजावतमा सास्ती हुन थालेपछि ग्राभेल हालेको बताए ।

बेलौरी बजारको भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतर्फ १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माण अलपत्र छ । जसले गर्दा क्षणभरको वर्षाले नै उक्त सडक जलमग्न बन्दै आएको छ । नगरपालिकाले उक्त ड्रेन निर्माणका लागि २०७८ मा ललितपुरको प्यारागन कन्सट्रक्सन प्रालिसँग ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनी कामै नसकी सम्पर्कविहीन बन्दा बजार क्षेत्र कुरूप बन्न पुगेको छ ।