बडायक आक्रमणमा संलग्न ‘घुमुवा प्रहरी’ माथि छानबिन


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
बडायक आक्रमणमा संलग्न ‘घुमुवा प्रहरी’ माथि छानबिन

बेलौरीस्थित फेमली रेष्टुरेन्टका सञ्चालक सुरेश कुमार बडायक आक्रमणमा संलग्न दुई जना प्रहरीमाथि छानबिन सुरु भएको छ।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) पनि खारेज गरिएको छ। बडायकमाथि आरआइटी टोलीमै संलग्न प्रहरीले धारिलो हतियारले आक्रमण गर्दा घाइते भएका थिए।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले होटल सञ्चालक बडायकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका छन्।

बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका छन् भने आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक बडायकमाथि शुुक्रबार राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनले प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको पुष्टि गरे। ‘अहिलेलाई आरआइटीको औचित्य र आवश्यकता नदेखिएका कारण खारेज गरिएको हो,’ एसएसपी महर्जनले भने, ‘अपराध, अनुसन्धान लगायतका काम सम्बन्धित ठाउँको स्थानीय प्रहरीलाई दिने व्यवस्था मिलाउने र आवश्यकता परेमा पुनः गठन गर्न सकिन्छ ।

आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध नियन्त्रणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो।