एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर फर्किएका अभिनेता पल शाहले यतिबेला लगाम लगाएको घोडा जस्तै म्यूजिक भिडियोलाई मात्र समय दिइरहेका छन् । गएको दुई महिनामा उनका आधा दर्जनभन्दा बढी म्यूजिक भिडियो सार्वजनिक भैसकेका छन् भने त्यही संख्यामा रिलिजको तयारीमा छन् । विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा पनि उनको व्यस्तता बढ्न थालेको छ ।
अब भने उनी फिल्मलाई समय दिने योजनामा रहेका छन् । फिल्मकै लागि उनले अभिनय पनि सिक्दैछन् । मंगलबार हङकङबाट नेपाल फर्किने क्रममा त्यहाँको एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा पलले आफूले वचन दिइसकेका केही म्यूजिक भिडियोमा काम गरेपछि असार दोस्रो हप्ताबाट फिल्मलाई समय दिने बताएका छन् । त्यस फिल्मको कथा विकास सुवेदीले लेखिरहेका छन् ।
उनले भने, ‘म नेपाल फर्किएको १०/१५ दिन म्यूजिक भिडियोमा नै काम गर्छु । असारको दोस्रो हप्ताबाट फिल्मलाई समय दिनेछु । मेरो नयाँ फिल्मको स्क्रिप्टको ‘फर्स्ट ड्राफ्ट’ सकिएको छ । म अभिनयको कक्षा पनि लिँदैछु ।’ उनले कलाकार तथा निर्देशक अनुप बरालबाट अभिनय सिक्न लागेका हुन् । फिल्मको छायांकन भदौबाट हुने र तिहारपछि प्रदर्शनमा आउने पल बताउँछन् ।
पलले आफ्नै प्रोडक्सन हाउसको फिल्मबाट कमब्याक गर्न लागेको चर्चा छ । यस विषयमा स्पष्ट पार्दै उनले भने, ‘म पहिला आफ्नै होम प्रोडक्सनको फिल्म गर्ने सोचमा थिएँ । तर, त्यो फिल्मको कथामा अझै रिसर्च गर्नुपर्ने भएकाले अहिलेलाई बाहिरी ब्यानरको फिल्म गर्दैछु । मेरो प्रोडक्सन हाउसमा बन्न लागेको फिल्म र अब गर्न लागेको फिल्मको लेखक (विकास सुवेदी) एउटै हुनुहुन्छ ।’
फिल्म सामाजिक कथामा बन्ने र त्यसमा प्रेमकथा पनि हुने उनले प्रस्ट्याए । यो फिल्म रिलिज भएपछि होम प्रोडक्सनको फिल्मलाई अगाडि बढाउने योजनामा पल छन् । उनले आगामी भदौमा गर्न लागेको अनटाइटल प्रोजेक्टलाई ‘नोभेम्बर रेन’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने निश्चित भैसकेको छ । पलको होम प्रोडक्सनको फिल्मलाई पनि दिनेशले नै निर्देशन गर्ने सम्भावना छ ।