प्रचण्ड-ओलीको एकै बोली, गगनप्रति परराष्ट्र मन्त्रीको कटाक्ष, रविकाे पार्टीमा ‘नो ईन्ट्री’


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
प्रचण्ड-ओलीको एकै बोली, गगनप्रति परराष्ट्र मन्त्रीको कटाक्ष, रविकाे पार्टीमा ‘नो ईन्ट्री’

जनताको सुख कम्युनिस्टको हातमा छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी पूरा गर्न सक्ने जिकिर गरेका छन् । अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने र त्यसो गरे कम्युनिष्ट पार्टीले जनताको जीवनलाई सुखी बनाउन सक्ने उनको भनाई छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी नै रहेको बताए । सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने उनको भनाई छ ।

बीआरआईमा चिनियाँको प्रश्न, उपप्रधानमन्त्रीको जवाफ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणमा मुलुककालागि उपलब्धिमुलक छलफल भएको बताएका छन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल उनले दाबी गरे । चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणबारे जानकारी गराएका हुन् । भ्रमणमा चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको समेत उनले जानकारी दिए । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषय छलफल भएको र नेपालमा थप सहयोग बढाउन आफुले गरेको आग्रहमा उनीहरु सकारात्मक भएको श्रेष्ठको भनाई छ । यस्तै, बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआईं) परियोजनामाबारे चिनियाँ जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले बिआरआइ कार्यान्वयनको ढाँचा बन्दै गरेको र दुईपक्षीय छलफलबाट पूर्णता दिइने बताएको समेत जानकारी दिइएको छ ।

गगनप्रति परराष्ट्र मन्त्रीको कटाक्ष

परराष्ट्र मन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले शेरबहादुर देउवा योग्यताले नै पाँच पटक प्रधानमन्त्री भएको बताएका छन् । अछाममा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा भाग्यले मात्रै प्रधानमन्त्री नभएको उनको भनाई छ । नेतामा हुनुपर्ने योग्यता, पार्टीको विचार र चिन्तनले देउवा पाँच पटक प्रधानमन्त्री भएको उनको जिकिर छ । पार्टीभित्र केही असन्तुष्टिका आवाज हुनु स्वभाविक भएको र लोकतान्त्रिक पद्दतिमा यसलाई अनौठो मान्न नहुने उनको भनाई छ । यस्तै, परराष्ट्र मन्त्री साउँदले पार्टी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न नसक्ने भन्दै पार्टीका सबै नेताहरुले पद्दति बाहिर नजान आग्रह समेत गरे । पछिल्ला दिनहरुमा कांग्रेसमा महामन्त्री गगन थापा पक्षले सार्वजनिक रुपमै पार्टी नेतृत्वप्रति आलोचना गरिरहेको प्रति लक्षित गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यस्तै, उनले मुलुकको समग्र विकासकालागि सबै दलहरु जिम्मेवार बन्नुपर्ने समेत बताए । परराष्ट्र सम्बन्धको अवस्था सुधारकालागि आवश्यक कामहरु भइरहेको समेत उनले बताए ।

अवैध सम्पत्ति हेलचेक्य्राइँ हुँदैन : कानून मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई नगरेको दावी गरेका छन् । आइतबार प्रतिनिधि सभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पारे । उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने प्रतिबद्धता समेत जनाए । उनले वित्तिय अनुशासन उलंघन गर्नेहरुलाई सरकारले विभिन्न कोणबाट अध्ययन अनुसन्धान गर्ने समेत बताए ।

सरकारप्रति असन्तुष्टि

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरु ल्याउने गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आईतबार प्रतिनिधिसभाको दोसो बैठकमा बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले सरकारले गम्भिर प्रकृतिका विधेयकहरु छलफलमा ल्याउँदा आफूहरुलाई अध्ययन गर्ने समय समेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । प्रमुख सचेतक यादवले सांसदहरुलाई छलफल समेत गर्न नदिई कुनै पनि विधेयकमा संसदमा अचानक छलफलमा ल्याउन काम नगर्न पनि सरकारलाई सचेत समेत गराए । गम्भिर प्रकृतिका विधेयक ल्याउनु अघि राजनीतिक दलहरुबीच सरकारले व्यापक रुपमा छलफल गराउनुपर्ने उनको भनाई छ । प्रमुख सचेतक यादवले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरका छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो समेत गरे ।

रविले भने, ‘स्वार्थीलाई नो ईन्ट्री’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई आफ्नो पार्टीमा कुनै स्थान नभएको बताएका छन् । गोकर्णेश्वर नगर भेलालाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताए । उनले रास्वपालाई कांग्रेस, एमाले र माओवादीजस्तै अरुको कब्जामा पर्न नदिने समेत बताए । उनले ठूला दलहरु सत्ता जोगाउनका लागि गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेको आरोप समेत लगाए । यो गठबन्धन जनता जोगाउनको लागि नबनेको भन्दै उनले दलहरुको यस्तै प्रवृतिले वाक्कदिक्क भएर जनताले घण्टी बजाउन थालेको बताए । उनले चुनाव हारेपनि राजनीति हार्ने छुट आफूहरूलाई नभएको समेत बताए । राजनीतिको फोहोर सफा गर्न सकिने भन्दै आफ्नो पार्टीका २१ सांसदले संसदको गौरव बढाएको उनको दाबी छ । १ जनाबाट सुरू गरेको राजनीतिक यात्रामा अहिले संसदमा २१ भएको भन्दै उनले २०८४ को निर्वाचनमा दुईतिहाइ बन्ने समेत दाबी गरे ।

अब बालेनको नजर ललिता निवासमा

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । आइतबार ललिता निवास क्षेत्रमा रहेको सार्वजनिक जग्गा घेराबारा गर्न पुगेको महानगर प्रहरीको टोलीले अवैध संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको हो । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । काठमाडौंका मेयर बालेन्द्र शाह बालेनको निर्देशनमा आइतबार महानगर प्रहरी ललिता निवासको खाली जग्गामा तारबार लगाउन पुगेको थियो । महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागिएको छ । ललिता निवासको सार्वजनिक जग्गाको संरक्षणका लागि मेयर बालेनको निर्णय अनुसार थप काम हुने समेत उनले बताए । बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको विषयमा अनुसन्धान जारी छ । आरोपीहरुले वयान समेत दिइरहेका छन् । विसं २०४९ सालदेखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा हत्याइएको सीआईबीको आरोप छ ।

वकिल र कर्मचारीको जुहारी : अदालतहरु बन्दी

कानून व्यवसायी र अदालतका कर्मचारीको जुहारीका कारण न्यायालयहरु अस्तव्यस्त भएका छन् । कानून व्यवसायीलाई थुनामा राखिएको विषय र अदालतका कर्मचारीलाई पिटेको विषयले उग्र रुप लिँदा न्यायालयहरु अस्तव्यस्त बनेका हुन् । आइतबार नेपाल बार एसोसिएसन आन्दोलित हुँदा न्याय सम्पादन नै प्रभावित भयो । बार एसोसिएसनले आइतबार काठमाडौंका तीनवटै जिल्ला अदालत र उच्च अदालतका इजलास बहिष्कार ग¥यो । जसले गर्दा न्याय सम्पादन लथालिङग भयो । ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठका अनुसार अर्को निर्णय नगर्दासम्मका लागि इजलास बहिष्कार गरिएको छ । अर्कातिर, देशभरका जिल्ला अदालतका कर्मचारीहरु दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार आन्दोलनमा उत्रिए । तर, दिउँसो भने कर्मचारी काममा फर्किए । उनीहरु काममा फर्किएपनि बारको आन्दोलनका कारण न्याय सम्पादन ठप्प रहयो । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलाई दुव्र्यवहार गरेको विषयमा कानून व्यवसायी अमिर लामिछाने प्रहरी हिरासतमा छन् । यता कानून व्यवसायीका छाता संगठनले कर्मचारीबाट सुरुमा हातपात भएको दावी गर्दै कानून व्यवसायी लामिछानेको रिहाईको माग गरिरहेका छन् ।

कर्णाली प्रदेश सभाको संकट मोचन

कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता पक्षबीच ७ बुँदे सहमति भएको छ । योसँगै संंसद्को अवरोध हटेको छ । आइतबार सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्षमा सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने लगायतका निर्णय भएका छन् । एमालेले यसअघि बजेट संशोधन लगायतका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो । बैठकमा ताल तलैया, बीउ विजन तथा क्रमागत योजनाहरूमा विनियोजित रकमबाट योजनाले पूर्णता पाउने भए उक्त, योजना कार्यान्वयन हुने व्यवस्था मिलाउने सहमति भएको छ । यस्तै १५ लाखभन्दा कम रकमका योजनामा विनियोजन भएको रकमका हकमा प्रमुख प्रतिपक्षसँग समन्वय गरी रकम विनियोजन गर्ने व्यवस्था मिलाउने पनि सहमति भएको छ ।

एसईईको नतिजा लेटर ग्रेडिङ अझै अन्योल

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन । सरकारले १८ फागुन २०७८ मा संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्छ । सैद्धान्तिकतर्फ कुनै विषयमा ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ । बोर्डले गत वर्षको एसईईको नतिजा कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएको भन्दै ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको थियो । जस अनुसार शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार भएको थियो । उक्त विधि अनुसार ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । नतिजा सार्वजनिक हुनु अघि बोर्डले निर्णय गरे अनुसार नतिजा सार्वजनिक गरिने छ ।

ट्वीटरमा फेरि नयाँ नियम : एलनको आलोचना शुरु

सामाजिक सञ्जाल ट्वीटरको फेरि नयाँ नियम अनुसार अब अनभेरिफाइड अकाउन्टले दैनिक ६ सय पोस्ट मात्रै हेर्न पाउने भएका छन् । ट्वीटरले ल्याएको नयाँ नियम अनुसार अब अनभेरिफाइड अकाउन्टबाट दैनिक ६०० पोस्ट मात्रै हेर्न पाइने भएको हो । यस्तै नयाँ अनभेरिफाइड अकाउन्टबाट भने तीन सय पोस्ट मात्रै हेर्न सकिनेछ । भेरिफाइड अकाउन्टबाट भने प्रति दिन ६ हजार पोस्ट हेर्न सकिनेछ । ट्विटरका सीइओ एलन मस्कले एक पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् । पोस्ट लिमिट भएसँगै ट्वीटरमा मस्कको सार्वजनिक आलोचना सुरु भएको छ । डेटा दुरुपयोगलाई रोकथाम गर्न यस्तो गरिएको मस्कले उल्लेख गरेका छन् । उनले अहिलेको यो प्रयोगलाई अस्थायी भनेका छन् भने आगामी दिनमा भने भेरिफाइडले ८ हजार, अनभेरिफाइडले ८०० र नयाँ अनभेरिफाइडले ४०० सम्म पोस्ट हेर्न सक्ने नियम ल्याइने मस्कले उल्लेख गरेका छन् ।