प्रतिनीधि सभा सदस्य ज्ञानेन्द्र शाहीले माओवादीले द्वन्दकालमा बन्दुक र अहिले क्यामेराले सताउन थालेको बताएका छन। उनले माओवादीले अहिले मिडिया प्रयोग गरि क्यामेराका माध्यमबाट तर्साईरहेको बताए।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमन राप्रपाका प्रबक्ता समेत रहेका शाहीले माओवादीले द्वन्दकालको झल्को दिने गरि मिडिया प्रयोग गरि क्यामेराका माध्यमबाट सताउन थालेको आरोप लगाए।
उनले सरकार ठुला भ्रष्ट्राचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित हुन थालेको बताए। ‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतीमात्र नभई ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गा धनिलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषि हुन्छन् ?’
उनले एक क्वीन्टल सुन पक्राउ प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाए।
सुन तस्करी काण्डको छानविन गर्न राप्रपा, नेकपा एमाले लगायतका दलले उच्च स्तरिय छानविन समिति गठन गर्न माग गरिएकोमा सरकारले त्यसलाई वेवास्ता गरेको प्रतिनिधि सभा सदस्य शाहीले बताए।
उच्चस्तरीय छानविन समिति गठन गर्दा सरकारमा सहभागि दलबाटै धेरै नेताको संलग्नता देखिने डरले प्रधानमन्त्रीलेनै उच्च स्तरिय छानविन समिति गठनको मागलाई वेवास्ता गरेको शाहीको आरोप छ।
‘सुन तस्करी प्रकरणमा माआबादी केन्द्रका नेता तथा पुर्व सभामुख कृष्ण महाराको संलग्नता रहेको प्रहरीको रिपोटले प्रष्ट देखाइसकेको छ,’ शाहीले भने, ‘त्यसलाई सरकारले नसुने जस्तो गरेको छ, किनकी माओबादी केन्द्रले त्यसमा छानविन गरेमा सो पार्टीका धेरै नेता फस्नेवाला छन्।’
यी दुई वटा घटनाबाटैनै सरकार ठुला माछालाई लुकाएर भ्रष्ट्राचार नियन्त्रण लागेजस्तो मात्रै गरेको प्रष्ट भएको बताए। उनले सरकार जनताका आँखामा छारो हालेर सस्तो लोकप्रियता कमाउन तर्फ लागेको भन्दै त्यसको प्रयास धेरै नटिक्ने बताए।
राप्रपा सुदूरपश्चिम प्रदेश समितिको १३औं बैठक तथा नवीन राप्रपाको अवधारणा बारे जानकारी दिन बुधबार राप्रपा प्रदेश कमिटिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राप्रपा अवको ६ महिना पछि सुदृढ र चलायमान देखिने बताए।