डोटीमा दिउँसै मोटरसाइकलबाट २ लाख ४५ हजार रुपैँया गायब भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ का हिक्मत भण्डारीले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेकगाडमा सो रकम झुण्डाएर ल्याएका थिए ।
शुक्रवार बिहान दिपायलको पिपल्ला बजारमा पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको हो । भण्डारी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्प्युटर सहायक हुन् । बैंकमा जम्मा गर्न ल्याएको रकम मोटरसाइकलमै छोडेर उनी शुक्रवार बिहान १० बजेर ७ मिनेटमा कार्यालय गएका थिए । कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा सँगै लग्न भूलेका भण्डारीलाई करिब डेढ घण्टापछि याद आएको थियो ।
तत्कालै उनले प्रहरीलाई खबर गरेका थिए । पार्कीङ्गका लागि जाँदा पैसा राखिएको झिल्ली उनकै मोटरमा झुन्डाइएको फुटेज सिसिटिभी क्यामेरामा देखिएको प्रहरिले बताएको छ । तर जहाँनिर मोटरसाइकल पार्कीङ्ग गरेर राखेको थियो त्यहाँको क्यामरा बिग्रेको प्रहरीले बताएको छ ।