जलविद्युतबाट छिमेकी पनि लाभान्वित हुने


[बेलौरी खबर ]
लेखक : admin      १० महिना अगाडि मा प्रकाशित     
जलविद्युतबाट छिमेकी पनि लाभान्वित हुने

काठमाडौँ, जेठ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् विकासबाट नेपालसँगै छिमेकी मुलुक भारत तथा बङ्गलादेश पनि लाभान्वित हुने बताउनुभएको छ । 

विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जलविद्युत् उत्पादन वृद्धि हुँदा हरित र स्वच्छ ऊर्जाको विकासबाट जलवायु परिवर्तनका असर न्यूनीकरण भई क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पाउने बताउनुभयो । 

उहाँले हालै भएको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत दीर्घकालीन सम्झौतामार्फत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै यसले जलविद्युत् विकासमा नयाँ सम्भावना खोलेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत् विकासमा सहकार्य गर्न बङ्गलादेशसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र विश्व बैङ्कबिच छ दशकभन्दा लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नु परेका जलवायुजन्य चुनौती र हरित विकासका सम्भावनाबारे छलफल गर्नुभयो ।

उहाँले माथिल्लो अरुण आयोजनामा विश्व बैङ्कले वित्तीय स्रोत जुटाउन वहन गरेको समन्वयकारी पहलका लागि धन्यवाद दिँदै नेपाल सरकारको प्राथमिकतामा रहेको सो आयोजना कार्यान्वयन गर्न स्रोत व्यवस्थापन गरिँदा अन्य आयोजनामा स्रोतको कमी हुन नदिनेतर्फ ध्यानाकर्षण गर्नुभयो ।

उपाध्यक्ष मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व बैङ्क सधैँ तत्पर रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो । उहाँले सुधारका क्षेत्रमा हातेमालो गर्न विश्व बैङ्क सधैँ अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।