जब फिल्म इन्डस्ट्री छाड्ने सोचमा पुगिन् दीया


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
जब फिल्म इन्डस्ट्री छाड्ने सोचमा पुगिन् दीया

जुनसुकै क्षेत्रमा राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । नेपाली फिल्म क्षेत्रमा पनि छ । कोही नराम्रो पक्षसँग लडेर अगाडि बढ्छन् त कोही हार खान्छन् । फिल्म क्षेत्रमा भोगेको तीतो अनुभवले धेरै कलाकार पलायनको बाटो रोज्न बाध्य छन् । अभिनेत्री दीया पुन पनि एक विन्दूमा फिल्म क्षेत्रबाटै टाढिने सोचमा पुगेकी थिइन् । जब उनले काम गरेको फिल्मबाटै पारिश्रमिक पाउन ठूलो संघर्ष गर्नुपर्‍यो ।

उनी त्यो फिल्मको नाम त खुलाउन चाहँदिनन् तर त्यही फिल्मका कारणले आफू एकपटक फिल्म क्षेत्र छाड्ने मनस्थितिमा पुगेकी बताउँछिन् । पत्रकार गोपिकृष्ण चापागाइँले हिमालय टेलिभिजनमा सञ्चालन गर्ने ‘सेलेब्स टक शो’मा दीयाले त्यस फिल्ममा आफूले मात्र नभइ अधिकांश प्राविधिकले समेत पारिश्रमिक नपाएपछि आवाज उठाएको बताउँदै अहिले त्यो कुरा सुल्झिसकेको बताइन् ।

Deeya Pun


उनी भन्छिन्, ‘त्यो फिल्ममा भोगेको पारिश्रमिकको समस्याले अब म इन्डस्ट्री छाडिदिन्छु भन्ने सोचेको थिएँ । पछि अरु प्रोजेक्टहरु आयो । टिमहरु पनि राम्रो पाएँ । केही नराम्रो व्यक्ति होलान् तर समग्र फिल्म क्षेत्र नराम्रो छैन भन्ने लाग्यो । एक/दुईजना त जहाँ पनि नराम्रो भैहाल्छन् नि ।’ फिल्ममा आउनुअघि उनले नेपाली फिल्म क्षेत्रका बारेमा राम्रोभन्दा नराम्रो कुरा बढी सुनेकी रहेछिन् ।

‘कास्टिङ काउच हुन्छ । पेमेन्ट भने जस्तो हुँदैन । महिलालाई त्यस्तो सुरक्षित हुँदैन भन्ने कुरा चाहिँ सुनेको थिएँ । यी कुराहरु भएरै त बाहिर आएको होला नि,’ उनी भन्छिन्, ‘तर मैले काम गरेको सबै प्रोजेक्टको टिम व्यावसायिक हुनुहुन्थ्यो । महिला भएर असहज महसुस कहिल्यै भएन ।’ फिल्म ‘वीर विक्रम’बाट सुखद डेब्यू गरेकी अभिनेत्री पुन अभिनयसँगै यूकेमा नर्सिङ पेशामा संलग्न छिन् ।

उनले आफू ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि खुलासा गरेकी छन् । तर, उनले प्रेमीको नाम सार्वजनिक गर्न चाहिनन् । ‘अहिले म रिलेसनसिपमा छु । तर, कोसँग छु त्यो चाहिँ भन्दिनँ । उहाँ यूकेमा नै बस्नुहुन्छ । र, फिल्म र चिकित्सा पेशामा आबद्ध हुनुहुन्न । २०१७ मा हाम्रो चिनजान भएको हो र २०१८ देखि प्रेममा छौं,’ उनले भनिन् । उनले चाँडै विवाह हुनसक्ने पनि संकेत गरेकी छन् ।

आगामी असार ८ गते दीया अभिनीत फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शन हुँदैछ । यसमा उनी डिएसपीको भूमिकामा छिन् । अघिल्ला फिल्महरुमा गाउँले चरित्रमा प्रस्तुत भएकी उनका लागि डिएसपीको भूमिका चुनौतीपूर्ण थियो । फरक भूमिकामा काम गर्ने हुटहुटी यो फिल्ममा पूरा भएकोमा उनी खुसी छिन् । यो फिल्ममा आफूले अहिलेसम्मकै धेरै पारिश्रमिक पाएको पनि उनले बताएकी छन् ।