किशोर/किशोरी समेत ड्रग्स (लागुऔषध)को दलदलमा फस्दै


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
किशोर/किशोरी समेत ड्रग्स (लागुऔषध)को दलदलमा फस्दै

बेलाैरी, २८ भाद्र । सुदूरपश्चिममा युवायुवतीसँगै किशोर/किशोरी समेत ड्रग्स (लागुऔषध)को दलदलमा फस्दै गएको पाइएको छ। खराब संगत र परिवारको बेवास्ताका कारण लागुऔषधको दलदलमा किशोर /किशोरी समेत फस्दै गएका हुन्। सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिने प्रहरी अधिकारीहरु बताउँछन्। प्रहरी तथ्यांकले पनि सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनको जालो विकराल बन्दै गएको देखाउँछ।

आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले लागूऔषध ओसारपसार, कारोबार र सेवनसम्बन्धी दुई सय ५३ मुद्दा दर्ता गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा मुद्दाको संख्या बढेर तीन सय ५३ पुगेको छ। यो संख्या आर्थिक वर्ष २०७९/८० मा आएर झण्डै दोब्बर अर्थात पाँच सय ४० नाघेको छ। एक हजारभन्दा बढी पक्राउ परेका छन्।

लागूऔषधको दुर्व्यसनमा युवायुवतीसँगै किशोर/किशोरीहरू कसरी परिरहेका छन् भनेर बुझ्न यस प्रदेशका कैलाली र कञ्चनपुरमा सञ्चालित सुधार केन्द्रमा रहेकाहरूको तथ्यांक हेर्दा पनि काफी छ। लागूऔषधको दुर्व्यसनमा विशेष गरी किशोरहरू छिट्टै फस्ने समस्या देखा परेको छ। यी पदार्थहरू यति खतराजनक हुन्छन् कि दुई/चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ। दुर्व्यसनीले जब लागूऔषध सेवन गर्न पाउँदैनन्, तब उनीहरू अचेतजस्तै हुन्छन्।

त्यसैले यसको सेवनका लागि ठूलै अपराध गर्न पनि तयार हुन्छन्। लागूऔषध दुर्व्यसन बढ्नुको मुख्य कारण सन्तानलाई मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबी र तनाव नै हो। विद्यालय/कलेजका विद्यार्थीहरू बढी मात्रामा दुर्व्यसनीमा फस्ने र पछिल्लो समय यो क्रम किशोर/किशोरीहरूमा पनि देखिएको छ। चिकित्सकको अनुमतिबिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा औषधि पसलेले बेच्ने गर्दा दुर्व्यसनी बढाएका छन्।