कञ्चनपुरका कुवेरको हत्या भएको खुलासा , २ जना प्रहरी नियन्त्रणमा


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
कञ्चनपुरका कुवेरको हत्या भएको खुलासा , २ जना प्रहरी नियन्त्रणमा

कञ्चनपुरमा करिब एक सातादेखि सम्पर्कविहीन भएका कुवेर दमाईको शव शुक्रबार खाडलभित्र फेला परेपछि हत्या भएको खुलेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ बाणी नदी किनारमा माटोमा पुरिएको अवस्थामा फेला परेका कुवेरको उनकै नातेदारले हत्या गरेको खुलेको हो।

प्रहरीले मृतक कुवेरका सहोदर भतिज नाता पर्ने २२ बर्षीय अजय दमाई र सहोदर भान्जा नाता पर्ने २८ बर्षीय हरिश दमाइले वादविवाद हुँदा उनको हत्या गरेका हुन ।

घटनाको दिन मृतक कुवेर संगै उनका नातेदार अजय र हरिश घरायसी कुरा र मादक पदार्थ सेवन गर्न नदी किनारामा गएका थिए । नदी किनारमा मादक पदार्थ सेवन गर्दै गर्दा वादविवाद भएपछि घटना भएको कञ्चनपुर प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ।

सोही क्रममा मृतक कुवेरलाई अजय र हरिशले हात, लात र सोही बगरमा रहेका ढुंगाले समेत टाउको, अनुहार हिर्काउदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

कुवेरको मृत्यु पछि अजय र हरिशले घटना लुकाउन सोही स्थानमा खाडल खनेर पुरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थल नजिकैबाट मृतकले प्रयोग गर्ने कालो रङ्गको चप्पल र मृतकले लगाउने गरेको रातो सेतो कालो रंगको चेक सर्ट फेला परेको थियो।

मृतक कुवेर साउन १५ गतेदेखि बेपत्ता रहेका थिए । प्रहरीका अनुसार मृतक कुवेर यसअघि पनि घरबाट हराइरहने भएकाले त्यती वास्ता गरिएको थिएन।

मृतक कुवेरको साउन १८ गते शव फेला परेको थियो ।प्रहरीले घटनामा संलग्न रहेका पाइएपछि अजय र हरिशलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।