कंचनपुरमा आइतबारदेखि शिक्षकहरु आन्दोलित भएका छन ।छात्रामाथि दुव्र्यवहार गरेको आरोप लागेका भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माविका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिटमा संलग्नलाई कार्बाहीको माग अघि सार्दै शिक्षकहरु आन्दोलित भएका हुन ।
नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समिति भीमदत्त नगरले आइतबारदेखि नगरका सामुदायिक तथा निजी विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको जनाएको छ । शिक्षक महासंघ भीमदत्त नगर आन्दोलन परिचालन समितिले प्रहरीको हतकडीदेखि प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएको भन्दै घटनामा सलग्नमाथि कार्बाही नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।
समितिले भीमदत्त नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई सहितका निकायमा ज्ञापन बुझाउन र आन्दोलनका थप कार्यक्रम सम्बन्धि छलफलका लागि आइतबार विहान १० बजे विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी सबैलाई भीमदत्त नगरपालिका कार्यालयमा उपस्थितिका लागि आग्रह गरेको छ ।
सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राले यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रहरीले नियन्त्रणमा लिएका जोशीमाथि भदौ ३ गते निर्घात कुटपिट भएइको थियो । कुटपिटबाट गम्भीर घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेको छ ।
लेखापाल जोशीको परिवारले कुटपिटमा संलग्न रहेको आरोपमा ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् । किटानी परेकामध्ये हालसम्म चार जना पक्राउ परे पनि अन्य फरार छन् ।
जिल्ला प्रहरी कार्यालयमा जोशी विरुद्ध पनि छात्राको परिवारले जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयले ती दुबै जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको बताउँदै आएको छ ।