एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै, यस्तो छ लेखाजोखा


[बेलौरी खबर ]
लेखक : admin      ५ दिन अगाडि मा प्रकाशित     
एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै, यस्तो छ लेखाजोखा

काठमाडौँ । एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै छन् । खेल श्रीलंकाको घरेलु मैदान कोलम्बोमा हुँदैछ ।

खेल दिउँसो ३ः१५ बजे आर प्रेमदासा क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेल दुवै टिमका लागि निकै नै चुनौतीपूर्ण रहेको छ ।

भारतले पाँच वर्षको उपाधि खडेरी चिर्ने प्रयास गर्नेछ भने साविक विजेता श्रीलंका सामु उपाधि रक्षा गर्ने चुनौती छ ।

दुवै टिम आठौँ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिड्दै छन् । यसअघि भएका सात आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितेको थियो ।

हेड टु हेड
भारत र श्रीलंकाबीच अहिलेसम्म १६६ एक दिवसीय खेल भइसकेको छ ।

जसमा भारतले ९७ तथा श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेल भने नतिजाविहीन भएको थियो । एक खेल बराबरी (टाइ) मा सकिएको थियो ।
एसिया कपमा यी दुईबीच २० खेल भएकामा दुवै टिमले १०–१० खेल जितेका छन् ।

यो श्रृंखलामा भारतका शुबमन गिल सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ५ खेलमा २७५ रन बनाएका छन् । त्यसतै कुलदीप यादव सबैभन्दा बढी ९ विकेट लिने खेलाडी हुन् ।

श्रीलंकाका तर्फबाट सदिरा समराविक्रममाले सबैभन्दा बढी २१५ रन बनाएका छन् । त्यस्तै मथिरा पथिरानाले ११ विकेट लिएका छन् ।

वर्षाको शंका 
कोलम्बोमा यसपालि वर्षाले एसिया कपको मजा ध्वस्त पारेको छ । कोलम्बोमा आज वर्षाको सम्भावना ९० प्रतिशत रहेको बताइएको छ ।

त्यस्तै तापक्रम २५ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान छ ।

मौसमले साथ दिएर मात्र पुग्ने छैन टिमलाई जित्नका लागि पिचले पनि उत्तिकै साथ दिनुपर्छ ।

उक्त पिच स्पिनरका लागि मद्धतकार रहने छ । त्यस्तै यो ब्याटिङ पिच रहेकोसमेत विज्ञहरुले बताएका छन् ।

तीव्र गतिका बलरलाई भने विकेट लिन मुस्किल पर्ने क्रिकेट पंडितहरुको अनुमान छ ।

त्यसो त यो फाइनल कसले जित्छ भन्ने कौतुहल उत्तिकै छ । निकै नै फर्ममा रहेको भारतले गत शुक्रबारको खेलमा बंगलादेशसँग ६ रनले हारेपछि झस्केको छ ।

सुपर फोरमा ४–४ अंकसहित भारत र श्रीलंकाले फाइनल खेल्न लागेका हुन् । बंगलादेश र पाकिस्तानले समान २–२ अंक बटुले ।

पहिलो पटक एसिया कप खेलेको नेपाल र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका थिए ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । पाकिस्तानसँग आधा समय बढी बलिङमा लिएको नियन्त्रण र भारतविरुद्ध बनाएको २३० रन नेपालका लागि प्रशंसायोग्य थियो ।

अहिलेसम्म भएका १५ संस्करणमा भारतले सात पटक उपाधि जितेको छ । भारत ३ पटक उपविजेता भएको छ ।

श्रीलंका ६ पटक विजेता तथा ६ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ ।

यसपटक फाइनलमा पुगेसँगै भारत ११ पटक फाइनलमा पुगेको छ भने श्रीलंका १३ औँ पटक फाइनलमा पुगेको छ ।