एलियनबारे नासाका वैज्ञानिक के भन्छन् ?


[बेलौरी खबर ]
लेखक : admin      ५ दिन अगाडि मा प्रकाशित     
एलियनबारे नासाका वैज्ञानिक के भन्छन् ?

पृथ्वी बाहिरका प्राणीलाई एलियन भन्ने गरिएको छ । तर, एलियनको अवधारणा अहिलेसम्म पनि रहस्यकै विषय हो । किनभने विश्वका ख्यातिप्राप्त संस्था र वैज्ञानिकहरूले एलियनको अस्तित्व पत्ता लगाउन सकेका छैनन् ।

जसरी वैज्ञानिकहरू सौर्यमण्डलका विभिन्न ग्रहमा चासोका साथ खोज गरिरहेका छन्, त्यसरी नै एलियनबारे पनि अनुसन्धानमा जुटेका छन् । वैज्ञानिकहरूले एलियनबारे कुनै ठोस जानकारी पहिल्याउन नसकेता पनि यसबारे अनेकौँ दाबी एकपछि अर्को गर्दै आउने क्रम जारी छ ।

हालै मेक्सिकोको संसदमै कथित एलियन्सको दुईवटा अवशेष प्रस्तुत गरियो र त्यसबारे कडा बहस भयो । एलियन भनिएका दुई अवशेष १ हजार वर्ष पुरानो रहेको दाबी गरिएको छ । मेक्सिकन पत्रकार एवं यूएफओमा चासो राख्दै आएका ज्यामी मौसनले सुनुवाइका क्रममा मेक्सिकोका सांसदसामु कथित एलियन्सका दुई अवशेष राखेका थिए । गैरमानव भनिएका दुवै अवशेष सन् २०१७ मा पेरुको कुस्कोमा फेला परेको बताइएको छ ।

ममीकृत रूपका दुवै अवशेषको दुई आँखा, दुई खुट्टा, दुवै हातमा तीन औँला र लामो टाउको देखिन्छन् । यी अवशेष पृथ्वीको नभएको र मान्छेको पनि नभएको दाबी मौसनले गरेका छन् । उनी यस विषयमा भन्छन्, ‘यो सबै प्रमाणको रानी हो, ब्रह्माण्डमा हामी मात्र छैनौँ । पृथ्वी बाहिर पनि जीवन छ ।’

मौसनले मेक्सिकोको संसदमा यो पनि सुझाव दिए कि मेक्सिको पृथ्वीमा एलियनको अस्तित्व स्वीकार गर्ने संसारको पहिलो देश बन्न सक्छ । तर, गत हप्ता एलियनबारे बहस आयोजना गर्ने सांसद सर्जियो गुटिरेज लुनाले भने कि कंग्रेसले सुनुवाइका क्रममा प्रस्तुत गरिएका सिद्धान्तहरूमा कुनै अडान र फैसला लिइएको छैन । सत्ताधारी दल मोरेना पार्टीबाट भेराक्रुज राज्यको गभर्नर हुन लागेका लुनाले सबै आवाज र सबै विचारलाई सुन्नुपर्नेमा जोड दिए ।

मेक्सिकोमा प्रस्तुत गरिएको कथित एलियनको अवशेषबारे विश्वभरका वैज्ञानिकहरूले नै आलोचना गरिरहेका छन् । यसलाई एउटा ‘स्टन्ट’को संज्ञा दिएका छन् । किनभने यसअघि ज्यामी मौसनले नै एलियन भनेर यस्तै अवशेष देखाएका थिए तर त्यो जनावरहरूको हाड र अन्य सामग्री मिसाएर बनाइएको पुष्टि भएको थियो ।

प्रिन्सटन विश्वविद्यालयको एस्ट्रोफिजिक्स विभागका पूर्व प्रमुख र हालै एलियन र यूएफओबारे नासाको रिपोर्ट तयार गर्ने प्रख्यात वैज्ञानिक डेभिड स्पर्गेल भन्छन् कि यस्ता एलिएन दाबी गरिएका नमूना र अवशेषहरू विश्वभरका वैज्ञानिक समुदायलाई परीक्षणका लागि उपलब्ध गराउनुपर्छ । अहिले नै त्यसलाई एलियन भन्न सकिँदैन ।

हालै मात्र नासाले एलियन र यूएफओबारे प्रतिवेदन सार्वजनिक गर्दै एलियनको अस्तित्वबारे केही पत्ता लाग्न नसकेको बताएको थियो । यद्यपि, यो ब्रम्हाण्डमा पृथ्वी बाहिर पनि जीवन हुन सक्नेमा नासाको कुनै आपत्ति छैन । नासाको रिपोर्टमा भनिएको छ कि सयौँ अज्ञात उडान तस्तरी यूएफओ देखिएको भनिएको घटनामा त्यहाँ एलियन थियो भनेर प्रमाण भेट्न सकिएन । तर, एलियन छ भन्ने सम्भावनालाई हामीले अस्वीकार पनि गरेको छैनौँ ।

प्रविवेदन भन्छ, ‘नासाको अनुसन्धानको बहुप्रतिक्षित प्रतिवेदनमा त्यस्तो कुनै प्रमाण दिइएको छैन, जसका आधारमा कुनै ठोस निष्कर्ष निकाल्न सकिन्छ ।’