उत्कृष्ट खेलाडी मनोनयनको अन्तिममा


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
उत्कृष्ट खेलाडी मनोनयनको अन्तिममा

पेरिस — लियोनल मेसीसहित म्यानचेस्टर सिटीका जोडीद्वय केभिन डी ब्रुयना र इर्लिङ हल्यान्ड पुरुषतर्फको यूईएफए वर्षका उत्कृष्ट खेलाडी मनोनयनको अन्तिम तीनमा परेको युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार जनाएको छ ।

यूईएफएको प्रतियोगितामा रहेका क्लब र राष्ट्रिय टोलीका प्रशिक्षकहरूका साथै पत्रकारको एउटा समूह आवद्ध रहेको छनोट समितिबाट यी खेलाडीले मुख्य मत पाउनेछन् । अगस्ट ३१ मा मोनाकोमा हुने च्याम्पियन्स लिगको समूह विभाजनको दिनमा यो पुरस्कार घोषणा हुनेछ । सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन यी दुईले प्रमुख योगदान दिएका थिए । हल्यान्डले प्रतियोगितामा सर्वाधिक १२ गोल गरेका थिए ।

त्यस्तै डी ब्रुयनाले ७ गोलका लागि पास मिलाइदिएका थिए । पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर मेजर लिग सकर टोली इन्टर मियामी लागेका मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले २०२२ को विश्वकप फुटबल उपाधि जितेको थियो । यो यस्तो उपाधि थियो, जुन मेसीले यसअघि जित्न सकेको थिएनन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो विधामा उपाधिका दाबेदार हुन् । गत सिजन सिटीलाई च्याम्पियन्स लिगसहित प्रिमियर लिग र एफए कपको उपाधि दिलाएका ग्वार्डिओलासँगै उत्कृष्ट प्रशिक्षकको अन्तिम मनोनयनमा इटालियन जोडी सिमोन इन्जाघी र लुसियानो स्पालेटी परेका छन् । इन्जाघीले इन्टर मिलानलाई च्याम्पियन्स लिगको फाइनलसम्म डोर्‍याएका थिए भने स्पालेटीले नेपोलीको ३३ वर्षको उपाधि खडेरी चिर्दै इटालियन सिरी ‘ए’ दिलाएका थिए ।

सिटीले बुधबार राति एथेन्समा सेभियालाई पराजित गरी युरोपियन सुपर कपको उपाधि जितेको थियो । गत सिजनमा युरोपा लिग जितेको सेभियाले अर्को एउटा उपाधि जित्नुपर्ने थियो । युसुफ एन नासेरीको हेड गोलमा सेभियाले पहिलो हाफमा अग्रता लिएको थियो । तर, उनले सिटीका गोलरक्षक एडरसनसँगको दुई राम्रो मौका गुमाउनु सेभियालाई महँगो पर्‍यो ।