अभिनेत्री उषा रजकले कलाकार तथा निर्देशक अनुप बरालमाथि गम्भीर आरोप लगाएकी छिन्। अनुपकै ‘एक्टर्स स्टुडियो’मा अभिनय सिकेकी उनले आफू छानिएको फिल्मबाट हटाएर तत्कालीन आफ्नी प्रेमिका दिया मास्केलाई अभिनय गराएको दाबी गरेकी हुन्। दिया अहिले अनुपको श्रीमती हुन्। पहिलो विवाह टुटेपछि अनुपले दियासँग दोस्रो विवाह गरेका हुन्।
रजकले शुक्रवार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राम्रो फिल्म आएको खण्डमा अरूबाट खोसेर दियालाई दिने गरेको गम्भीर आरोप लगाएकी छन्।
उनले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर अनुपले दियालाई अभिनय गराएको आरोप लगाइन्।
उनले आफूलाई फिल्मबाट हटाइएको बारेमा अनुपसँग कुरा गर्दा अन्यत्र कुरा मोडेको आरोप लगाएकी छन्। उनले परिवारवाद र समर्थनवाद किन भन्दै बिरालोको घाँटीमा घण्टी कसले बान्ने भन्दै प्रश्न गरेकी छन्।
‘कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई भूमिका दिन पाइयो। तर, एउटा शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुपर्छ। परिवारवाद, समर्थनवाद किन?’,उनले थप लेखेकी छिन्,‘ मैले एक्टर्स स्टुडियोfका धेरै विद्यार्थीले पछाडि पछाडि यो कुरा भनेको सुनेको छु। तर, बिरालोको घाँटीमा घण्टी कसले बान्ने ?’
उनले अन्तमा आफ्नो अनुपसँग कुनै रिस नभएको र दिया मास्केलाई पनि राम्रो कलाकारको उल्लेख गरेकी छन्।