काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा राखिएकाे ‘अखण्ड भारत’ काे नक्सामा नेपालको भूमि समावेश गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कुरा गर्नुपर्ने बताएका छन । भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्दै उनले त्याे उचित नभएकाे प्रतिक्रिया दिए ।
अखिल नेपाल महिला सङ्घले मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट परे । उनले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा त्याे नक्सा संसद् भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए।
भारतसँग त्याे गल्ती सच्याउनेबारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताए। उनले भने, ‘भारतकाे संसद् भवनमा राखिएकाे नक्सामा नेपालकाे लुम्बिनी र कपिलवस्तु पनि रहेकाे कुरा आइरहेकाे छ । नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसद्जस्तो ठाउँमा राख्ने काम भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले गर्छ भने त्यो व्यवहारलाई उचित भन्न सकिँदैन । प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यति कुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने ?’
अध्यक्ष ओलीले शक्तिराष्ट्रहरूले बलमिच्याइँ गरिरहेकाले कमजोर देशहरूले न्यायको खोजी गरिरहनुपरेको पनि बताए।